.......केहि समय पश्चात बसले भत्तपुरको सल्लाघारीबाट
धुलिखेलको चौतारी होटलमा पुर्याएर रोकीयो । हामी त्यो बसमा झण्डै १० ११ जना मात्र
सहभागीहरू थियौं । बसले होटलमा पुर्याइसकेपछि सबै आ आफ्नो ब्याग बोकि होटलको
काउण्टरमा पस्यौ । झट्ट हेर्दा त्यो होटलको अगाडिको माथिल्लो भागमा कास र स साना
खपडाले छाइएको थियो । होटलको बाहिरी रूप एकदम सामान्य देखिन्थ्यो । तर होटल
भित्रको सजावट भने असाध्यै सुन्दर अनि मनमोहक थियो । सहभागीहरू मध्ये केहिले भन्दै
थिए त्यो होटल सामान्य थियो । तर मेरो लागि त्यो होटल धेरै राम्रो र सामान्य भन्दा
माथिको थियो । कोलाहल भन्दा धेरै पर । पहाडको शान्त वातावरण । चिसो मौसम । चारैतिर
हुस्सुले ढाकेको वनजंगल । वास्तवमा भन्नुपर्दा त्यो होटल र होटलको वातावरण असाध्यै
मनमोहक देखिन्थ्यो ।
त्यसरी म होटलको मनमोहक सजावट नियाल्दै काउण्टर भित्र पसे र
आफ्नो कोठा कुन हो भनेर सोधे । म र जिवन दाइको लागि एउटा कोठा छुट्याइएको रहेछ ।
हामी उदयपुरबाट दुइजना सहभागी भएको कारण एउटै कोठामा राखिदिएछन । तपाइको रूम
तल्लो लाइनको १०४ नम्बर हो भाइ भनेर काउण्टरमा बस्नु भएको एकजना दाइले भन्नुभयो र
रूमको चाबि दिनुभयो । म काउण्टरबाट आफ्नो कोठाको चाबि लिइ कोठा पसे । कोठा
भित्रको सजावट पनि असाध्यै राम्रो र व्यवस्थित थियो । बेड छेउमा ब्याग राखे र चाबि
लगाइ फेरी काउण्टरको सोफामा गइ पत्रिका पढ्दै बसे ।
बिहानको नास्ता ८ बजे प्लानिगं गरिएको रहेछ । तर हामी चढेको
बस अबेर पुगेको कारण हाम्रो लागि ब्रेकफास्ट ९ बजेतिर भयो । ब्रेकफास्टमा सबै
खानेकुराहरू स्ट्यान्डर्ड थियो । रातो सेतो लेदो, पाउरोटि, आलु फ्राइ, उसिनेको
अण्डा.... । घरमा त चियामा पाउरोटि चोबेर खान्थे । त्यहाँ भने पाउरोटिलाइ टोस्ट
अनि सेतो चाहि बटर अनि रातो चाहि जाम रहेछ । पहिलो चोटि आफुलाइ त थाहा थिएन । सेतो
चाहि मिठो होला भनेर तीन चार चम्ची हाले अनि एउटा टेलबमा गइ पाउरोटिमा धेरै दलेर
खाएको त त्यो त डाल्दा घ्यूँ जस्तै पो गन्हायो । सर्लक्कै सेतो दलेको पाउरोटि
छाडेर अर्को पाउरोटिमा रातो मात्रै दलेर खाए । मैले त्यसरी खाएको छेउकै टेबलमा
बस्नुभएको बिजय सरले नियाली रहनु भएको रहेछ । पछि झल्यास्स सर तिरै आँखा परेपछि
लाजले नास्ता नखाइ त्यतिकै छाडेर बाहिर निस्किए । अनि केटा खप्पर त तैले पाएकै
रहेछस भन्दै आफै मन मनै हासेपनि ।
ब्रेकफास्ट पश्चात ढिलो पुग्ने जति सबै सभाहल भित्र पस्यौ ।
सभाहलमा सबै सहभागिहरू र एक्शनएडका म्याम सरहरूपनि पसिसक्नु भएको थियो । मैले छेउकै
एउटा चकटि ताने र गोलबद्द रूपमा बसे । त्यसपछि ढिलो पुग्ने बाँकी सहभागीहरूको पनि
परिचय हुदै कार्यशाला सुरू भयो । सुरूमा वित्तीय कार्यशालामा सहभागी हुने सबै
सहभागीहरूलाइ पूर्ण सरले स्वागत गर्नुभएपछि एक्शनएड नेपालका कन्ट्रि डाइरेक्टर
बिमल कुमार फुँयाल सरले सबैलाइ शुभकामना दिदै औपचारिक रूपले कार्यक्रम सूचारू
गर्नुभयो र क्रमशः शेड्युल अनुसार कार्यक्रम अघि बढ्दै गयो । पहिलो पल्ट त्यस्तो
कार्यशाला र त्यत्रो मानिसहरू बिच बसेको । मन भित्र भित्रै डर लागिरहेको थियो । आफुले
के सोध्नु, के बोल्नु । आफुलाइ के के सोध्नेहुन भन्ने सोचेर चुपचाप शेड्युल हेर्दै
बसिरहे । शेड्युलमा दिउँसोको १ बजे खाना खाने समय राखिएको थियो । त्यहि देखेर कति
खेर १ बज्छ र बाहिर निस्कनु भन्दै मन छटपटिरह्यो । फेरि बिहान देखिनै एकै टाउँमा
मात्र बसिरहेको हुनाले पट्यार लागिरहेको थियो । तर पट्यार लागेपनि तीन चार वटा
शेसनपछि खाना खाने समय भइहाल्यो ।
कार्यक्रमको सेड्युल १ घण्टा जति ढिलो सुरू भएको कारण खाना
खाने समय पनि १ घण्टा पछि सर्यो । त्यसैले धेरैजसो सहभागीहरू कोठा नगइ हलभित्रै
कपि छाडेर सरासरी खाना खाने लाइनमा लाम लाग्यौ । आफु त होचो कद अनि पातलो ज्यान ।
खाना लिने लाइनमा छिरिहाले । त्यसरी लाइनमा छिर्दा त्यस बेला मलाइ मैले स्कुलमा
पढ्दा प्राथना गर्ने समयमा त्यसरी लाइनमा बसेको र एउटा साथीले अर्को साथीलाइ धकेला
धकेल गरेर जिस्किएको याद भयो । किनभने त्यसरी लाइनमा म स्कुलको प्राथना र एसएलसी
परिक्षा दिने समयभन्दा पछि कहिल्यै बसेको थिइन । बैंकमा चेक भजाउनको लागि पनि
कार्यालय सहयोगी नै जानुहुन्थ्यो । अँ साचि एकपल्ट अर्थात ९ १० वर्ष पहिले भोट
हाल्न जादा त्यसरी लाइनमा लाम लागेको थिए । अनि मंसिर ४ गते अर्कोपल्ट भोट हाल्ने
क्रममा लाइनमा बसेको थिए । खैर त्यसरी लाइन बस्दै जाने क्रममा अगाडिका सहभागी
साथीहरू र म्याम सरहरूले क्रमश खाना लिदै जानुभयो । लाइन छोटिदै गयो र मेरो पालोमा
मैलेपनि अरूले गरे झै एउटा प्लेट, दुइवटा चम्चा लिइ दुइ पन्यूँ भात, एक डाडु दाल,
चार पाँच टुक्रा बोइलर मासुको टुक्रा, आलुको सब्जि र केहि मुलाका चानाहरू लिएर
एउटा टेबलमा बसे । सायद म मात्रै त्यस्तो ब्यत्ति हुनुपर्छ त्यहाँ जसले त्यत्रो
सहभागीहरू भए तापनि एक्लै बसेर खाना खाए । डर हैन मलाइ लाज लाग्यो । पहिलोपल्ट
भएको कारण सबै म भन्दा ठूलठूला ब्यत्तिहरू होलान । के भन्ने हुन कि जस्तो सोचे ।
तर पछि थाहा भयो कि, धेरै जसो सहभागीह त म जस्तै पहिलो पल्ट सहभागी भएकाहरूपनि पो
रहेछन । त्यसपछि अलि घुलमिलको वातावरण बन्यो । चिन्ता टर्यो ।
खानाको लागि एक घण्टा समय छुट्याइएको थियो । खानापछि जिवन
दाइसँगै कोठा गए । २ वटा बेडहरू मध्ये एक एक वटा बेडमा ढल्कियौं । बेडमा जसो
ढल्किएको बडो आनन्द लाग्यो । मुलायम अनि लचक लचक फर्मयुत्त ओछ्यान । म केटाकेटि
हुदो हु त दिनभर मेरो काम त्यहि बेडमै लच्किने हुन्थ्यो । तर के गर्नु त्यो मुलायम
अनि लचक लचक फर्मयुत्त बेड मेरो हैसियत भन्दा परको थियो । तर जे भएपनि अथवा
त्यहाँको बेडमा मुलायमता, खाना अनि सेवामा सहजता र भेराइटि भएनी मैले सादा जिवन
सादा बिचार पाउन सकिन त्यहाँ । हामी अरूलाइ अति सरल तरिकाले सादा जिवन जिउनु बिचार
उच्च राख्नु भनेर भन्ने गर्छौ । तर हामी आफै भनेचाहि सुख ऐस आरामको जिन्दगी
खोजिरहेका छौ रोजिरहका छौ । आफ्नो इच्छारूपी विशाल बगैचालाइ घेराबेरा गर्न
सकिरहेका छैनौ ।
यस्ता कुराहरू सोच्दासोच्दै एक घण्टाको खाना पछिको
विश्रामको समय पनि सकियो । त्यसपछि जिवन दाइ र म फेरी सभाहल तिर झर्यौ । सभाहलमा
सबै सहभागीहरू पसिसकेपछि शेड्युल अनुसार बाँकी सेसनहरू समूह छलफल विधिबाट गरीयो ।
धेरैजसो सेसनहरू मेरो लागि धेरै उपयोगी भयो । किनकि म नयाँ थिए । नेपाल सरकारको
बदलिएको कर नीति, सपोर्टिगं डकुमेन्ट, वित्तीय व्यवस्थापनका चुनौची तथा अवसरहरू ।
यी यस्ता गहक अनि गहन विषयवस्तु मेरोलागि अति महत्वपूर्ण थियो । त्यस्तै त्यस्तै
विषय वस्तुहरू सेड्युल अनुसार अघि बढिरह्यो । तर आफुलाइ भने दिनमा तीन चार पल्ट
चिया पिउने लत । कति खेर चिया पिउ कति खेर चिया पिउ हुने तलतलि लागिरह्यो । त्यहाँ
चियको व्यवस्था नै नभएको भने हैन । तर जे पनि सेड्युल अनुरूप भएको हुनाले मैले
चाहेको बेला चिया पिउन पाउदिन थे । मन मारेरै बस्नु कर थियो । यसरी बिहान ९
बजेदेखि बिच बिचमा १५ मिनेटको ब्रेक गर्दै निरन्तर रूपले एउटै कोठाभित्र बेलुकाको
५ बजेसम्म बस्दा बस्दा पट्यार लागिरहेको थियो । अफिसमा त गीत सुन्दै काम गर्ने
बानि । जुनसुकै बेलापनि बाहिर निस्कन पाइने । तर त्यहाँ सभाहलमा भने सबै कुरा
सेड्यूलमा निर्भर थियो ।
बेलुकाको ६ बजेतिर बल्लबल्ल पहिलो दिनको सेसन सकियो । धेरै
काम गरेर थोरै आराम र थोरै आरामको बिचमा धेरै काम गर्ने बानि बेला बेलामा गरिने
त्यस्तो मिटिगंको सिटिगंबाट सिकिने रहेछ भन्ने कुरा डायरीमा टिपोट गरि कोठा फर्किए
र बेडमा पल्टिए । बाँकी भनेको अब रातिको खाना खाएर आरामसाथ सुत्नु मात्र थियो । तर
त्यस होटलमा ओइ कान्छा भात खान आइज यसरी मलाइ आमाले बोलाउनु भएझै
बोलाउने कोहि थिएनन् । बेड नजिकै राखिएको फोनमा सर खाना रेडि छ भनेर फोन आएपछि तल
झरेर खाना खानुपर्ने । कि त सेड्युल हेरेर तल झर्नुपर्ने । त्यहाँ काम गर्ने एक
दुइ जनालाइ त मलाइ सर नभन्नु । बरू बोलाउनै परेमा भाइ भन्न सक्नुहुन्छ भनेर भने ।
किनभने उनिहरू उमेरले म भन्दा जेठो देखिन्थे । तरफेरि उनिहरूको काम र उदेश्य नै
हामीलाइ सेवा गर्नु नै हो । हामी त केबल तीन दिनको लागि पाहुना मात्र थियौ त्यहाँ
। उनिहरूले हामी त्यहाँ बसुन्जेल अर्थात त्यहाँ गएर बस्ने हर कोहिलाइ सर म्याम
भन्नु नै पाहुनाको स्वागत सत्कार गरझै थियो ।
जेहोस अचेल पाहुनालाइ स्वागत सत्कार गर्ने महत्व विस्तारै
हराउदै गए तापनि प्रायशः होटलहरूमा भने सबैलाइ स्वागत सत्कार गरिन्छ नै । सर
नास्ता, सर चिया,,,,सर....यी यस्ता कुराहरू गम्दा गम्दै कतिखेर रातिको खाना खाने
समय भैसकेको रहेछ पत्तै भएन । जिवन दाइले खाना खानको लागि बोलाउन कोठा आउनुहुदा पो
यसो घडि हेरे त ८ बजेको रहेछ । त्यसपछि दुबैजना खाना खान माथि उक्लियौ । माथि जसै
उक्लिएको त होटल बिहान भन्दा राति पो धेरै राम्रो देखे । विदेशीहरूको डलर भजाउने
होटल । दिउँसो भन्दा राति राम्रो देखाइएको होला नि भनेर सोचे । किनभने दिनको
घामलाइ हेर्दा आँखा तिरमिर्याउछ । तर रातको जुनलाइ हेर्दा आनन्द आउँछ भने झै
त्यस्तै रणनीति लिइएको हुनुपर्छ त्यो होटलमा । त्यसरी होटलको सजावट हेर्दै खाना
खान माथि डायनिगं रूम पुगियो । खाना बिहान झै लाइनमा बसेर आफुलाइ इच्छा अनुसार आफै
पस्कनु पर्ने । त्यसरी आफुलाइ मनपर्ने अनि चाहिने जति आफै पस्कने काम वफ सिस्टम रे
।
यदि हाम्रो देशको राजनीतिक दलका सम्पूर्ण नेताहरूले पनि
राजनीतिक कार्यमा वफ सिस्टम लागू गरे क्या काइदा हुन्थ्यो होला । देशको मुहार नै
फेरिन्थ्यो होला है ? खैर
राजनीतिक दलका नेताहरूका कुरा नेताहरू नै जानुन । किनभने हाम्रो देशका सबै नेताहरू
बहुरूपी छन । कतिखेर कस्ले कुन रूप लिन्छन थाहा पाउन मुस्किल बन्दै गइरहेको छ । तर
म आफु भने वफ सिस्टम अनुसार नै आफ्नो इच्छा अनुसारको खाना, मटर पनिर, बोइलरको
मासु, दाल केहि सलाद एउटा प्लेटमा हालि खाना खान बसे । रातिको खाना मानौ म कुनै
शानदार पार्टिमा खाइरहेको थिए । किनभने होटल भित्रको रात्रिकालिन सजावट भव्य ।
साथै सबै सहभागी साथीहरू ग्रुप ग्रुपमा बसेको । काइदासँग खाना खाइयो । खाना पछि
होटल बाहिर टिलपिलाइरहेको मनमोहक झिलमिल बत्तिहरू हेर्दै टिलपिल गरिरहेको वरपरको
वातावरणमा केहि बेर बसेर सुत्नको लागि कोठा ओर्लीयौ । यहि पाराले बाँकी दुइ दिनको
सेसनहरू धुलिखेलको चौतारी होटलमा बित्यो ।
अँ साचि यस क्रममा एउटा रोचक कुरा त झण्डै लेख्न बिर्सिएको,
कुरा के भन्दा खेरी, आफुलाइ सधै बिहान सबेरै उठ्ने बानि छ ।
बिहानको ४ बजेको अलरामसँगै उठ्ने गर्छु । मर्निगंवाक गर्दै गाइघाट बजारसम्म पुग्छु
। प्रकाश अंकलको चिया पसलमा पुगेपछि साथीहरूलाइ फोन गरि चिया पिउनको लागि बोलाउछु
। फोन गरेर बोलाएको साथीहरूसँग जमघट भइसकेपछि सँगै हासिमजाग गर्दै चिया पिउँछु ।
दैनिक लोकल पत्रिका छापिएको पाए भने चियाको चुस्कि लिदै पढ्ने गर्छु अनि घर फर्केर
फ्रेस हुने बानी छ । त्यहि लागेको बानि झै कार्यशालाको पहिलो दिनको भोलिपल्टको
बिहान ४ बजेको अलरामसँगै ब्युझिए । बाहिर जाने ठाउँ थिएन । उठ्ने बित्तिक्कै
चियाको व्यवस्था पनि थिएन । त्यसैले बाथरूम पसेर मुख थोए । मुख त धोए तर
ट्वाइलेटको भने समस्या पर्यो । घरमा टुक्रुक्क बसेर गर्ने बानि । तर त्यहाँ भने
भलाद्मि पाराले बसेर । अझ पाएसम्म पत्रिका पढ्दै गर्दानि फरक नपर्ने । मलाइ त बडो
समस्या पर्यो । के गर्नु न कसो गर्नु । सोध्नु कसलाइ सोध्नु । बल्लतल्ल जसोतसो काम
चलाए । धुलिखेलकमा बिहानको मौसम चिसो भएता पनि बाथरूम भित्र भने मलाइ एक छिन त
चिटचिट पसिनै आयो । त्यसरी पहिलो दिनको समस्यासँगै सिकाइ पनि पाए र बाँकी दुइ दिन
भने ट्वाइलेटको समस्या परेन ।
उता कार्यशाला पनि पछिल्लो दिनहरूमा अन्य साथीहरूसँग पनि
परिचित भइसकेको कारण कुनै अप्ठेरो महसुश भएन । शेड्युल अनुसारनै निरन्तर रूपमा
कार्यशाला पनि सञ्चालन रह्यो । पहिलो दिन केहि चिन्तित, असहज अनि अप्ठेरो महशुस
भएता पनि बाँकी दुइ दिन भने राम्रो सिकाइको साथ बित्यो । अन्ततः तीन दिन धुलिखेलको
चौतारी होटलमा भएको वित्तीय कार्यशालामा सहभागी हुदा पाएको मिठो अनुभव, अविश्मरणीय
पलहरूलाइ आफ्नो डायरीमा संगाल्दै नयाँ साथीहरूसँगको चिनापर्चीको चिनो लिएर गाइघाट
फर्किए ..............क्रमशः
No comments:
Post a Comment